site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुग्यो
प्रतीकात्मक तस्बिर ।

तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार, म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो ।

गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधबार साँझ शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार, च्याउ खाएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो ।

मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो । प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिबार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो ।

बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठजना प्रदेश अस्पताल दमौलीमा उपचारपश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६, सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।  

उनीहरूमा बान्ता हुने, पखाला लाग्ने, रिङगाटा लाग्ने लक्षण देखिएको थियो । उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुईजनालाई थप उपचारका लागि पोखरा र काठमाडौं लगिएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्