site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
केबलकारविरोधीलाई पछि पछुतो हुनसक्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याइनुले लगानीकर्ताको मनोबल घटाएको बताएका छन् । विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताको मनोबल घटाउनु भएको उनले उल्लेख गरे ।

उनले पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पुर्‍याउनु गलत भएको बताए । यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने विषयमा समस्या हुने उनले जिकिर गरे ।

Argakhachi Cement Island Ad

“हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानीकर्तालाई आउन आग्रह गरिरहेका छौँ भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आमनेपालीलाई सर्भिस दिने हिसाबले खोजिएको छ,” उनले भने, “त्यसको विरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरू (केबलकारविरोधी)लाई पछि गएर यो पछुतो हुनसक्छ ।”

उनले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका निम्ति बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्न सक्ने अवस्था सिर्जना हुने बताए । केही राजनीतिक दल, व्यक्तिहरूले केबलकार निर्माणमा बाधा पुर्‍याइरहेको उनले उल्लेख गरे ।

यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनले बताए । “जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आमसर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवद्र्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसाबले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रूपमा गरिएको छ,” उनले भने, “यो दुःखद हो । आमसर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ । त्यसको विरोधमा लागिएको छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्