site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एउटा निजी पीर 

रहिनँ भने म के गर्छ्यौ तिमी ?
तिम्रो कठोर मौनता, ठूलाठूला उदास, आँखाभित्रै बगिरहेको आँसु
मेरो तस्बिरभरि लतपत्याएर तिमी रुन्छ्यौ या 
हाम्रो सम्बन्धका अनेक किस्सा हरकोहीलाई सुनाएर हिँड्छ्यौ 
रहिनँ भने म के गर्छ्यौ तिमी ?

जब समय कम र सँगै देखेका सपना धेरै हुन्छन्, 
हामी छुट्टियौँ भन्ने बोधले तिमी थप हैरान हुन सक्छ्यौ 
कसैलाई बेहोसीको हदसम्म प्रेम गर्नु र साथ नपाउनुको आभासमा 
तिमी कालो रातझैँ बिरानो हुन सक्छ्यौ आफैँसँग ।

जब मेरो शरीरले मलाई छोड्छ, 
हराउनेछ चौडा छातीको साहस र लत्रिनेछ तिम्रो भरोसामय मेरा पाखुरा 
र बेपरवाह खुल्नेछन् हातका किरिङमिरिङ रेखाहरू 
त्यति बेला के गछ्र्यौ तिमी,
मलाई खोज्छ्यौ कि मलाई खोज्दा खोज्दै आफैँ हराउँछ्यौ 
या मेरो बन्द आँखाबाट बगिरहेको आँसु अरू कसैलाई पुछ्न लगाउँछ्यौ ?
त्यही बेला कसैले सोध्न सक्छ तिमीलाई– 
आखिर भएको चाहिँ के थियो ?
प्रश्नले त्यो असह्य पीडालाई सस्तो बनाइदिन सक्छ 
सम्बन्धको पहाडमा खसेको प्रेमको गहिरो पहिरो 
कसरी सकिन्छ हुबहु बयान गर्न कसैलाई ? 

यो निजी पीरलाई रहन देऊ गाडधनझैँ आफूभित्रै 
कति जिन्दगी बितायौँ हामीले एकसाथ, नसोध्नू
समयले आफैँ बुझाउनेछ
जिन्दगी केलाई भनिन्छ, जहाँ तिमी स्वयंले तिमी बन्दै गरेको देख्यौ 
सायद आफ्नै अनुहारमा थपिएको उज्यालोले 
पहाडजस्तो जिन्दगी सिमलको फूलझैँ भएको हुनुपर्छ 
कति खुसीहरू कहीँको रहँदैनन्, थाहा पाउँछ्यौ 
कति कल्पना र भविष्य 
निर्दयी छाया बनिदिन्छ, जसलाई बाँध्न सकिँदैन आफूसँगै 
यति धेरै खिन्नता लिएर किन आउँछ प्रेमको पदचाप ?
कसैको नहुनुले कसरी आफूलाई निष्प्राण बनाइदिन्छ,
सब सब महसुस हुनेछ तिमीलाई ।

बतासले जब बोकेर ल्याउँछ मेरो आभास, 
तिमी के गर्छ्यौ – जडवत् मूर्तिजस्तो उभिन्छौ या 
मलाई भुल्ने हरसम्भव कोसिस गर्छ्यौ ? 
मेरो स्थानमा अरू कसैलाई राख्छ्यौ या
आँखाको नानीझैँ कहिल्यै नमर्ने मेरो प्रेमलाई नै
प्रेम गरिरहन्छ्यौ ? 
रहिनँ भने म के गर्छ्यौ तिमी ?
निर्धक्क रुन्छ्यौ मेरो लागि 
र त्यसपछि कहिल्यै कसैका लागि रुँदिनौ ? 

तर बुझ्नू–  
जिन्दगीमा भाग्य र मान्छेले एकचोटि मात्र गर्दैन छल 
सक्छ्यौ भने
एउटा यस्तो समयको सपना देख्नू– 
जति बेला तिमीले बिर्सनेछ्यौ कसैले छाडेर गएको थियो तिमीलाई 
र आफ्नो निजी पीरमा रोएकी थियौ तिमी जिन्दगीमा पहिलोपल्ट कसैको लागि ।

रहिनँ भने म के गर्छ्यौ तिमी ?
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्