site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर  
फाइल तस्बिर ।

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च अदालतको नवौँ अधिवेशनमा महरले सबै आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘देश विकास र समाज सेवाका लागि हाम्रा सबैले आ–आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक लिन आवश्यक छ। कर्मचारीहरूले मात्र तलब पाउने उद्देश्य राखेर काम गर्ने र राजनीतिकर्मीले भोट मात्र खोज्ने सोचाइले देशलाई अगाडि बढाउन सक्दैन।’  

महरले राजनीतिक नेतृत्व र निजामती कर्मचारीबीचको सहकार्यले मात्र सुशासन र विकास सम्भव हुने बताए। उनले थपे,‘राजनीतिकर्मीले नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ र कर्मचारीले ती नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ। त्यसैमा मात्र देश र जनताले समृद्धिको अनुभूति गर्न सक्छन्।’  

कार्यक्रममा उनले निजामती कर्मचारीका चुनौती र समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै भने,‘कर्मचारीको व्यावसायिक क्षमतामा अभिवृद्धि गर्न, उनीहरूको काम गर्ने वातावरण सुधार गर्न, र उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो। कर्मचारीले प्रोत्साहन पाए मात्र उनीहरूबाट उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ। सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’  

सर्वोच्च अदालतको विभागीय समितिद्वारा आयोजित कार्यक्रममा निजामती कर्मचारीको अधिकार र उत्तरदायित्वका साथै तल्लो तहसम्म सेवा प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्