site stats
बाह्रखरी :: Baahrakhari
खेल
रेड स्टारको पोस्टमा लेवान्डोवस्कीप्रेरित बार्सिलोनाको पाँच गोल

काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोवस्कीको दुई गोलप्रेरित बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा रेड स्टारविरुद्ध ५–२ को सहज जित निकालेको छ ।

बुधबा राति रेड स्टारको मैदानमा बार्सिलोनालाई जित दिलाउन लेवान्डोवस्कीबाहेक राफिन्हा, फेर्मिन लोपेज र इनिगो मार्टिनेजले समान एक गोल थपे । घरेलु टिमका कोटाम्पा एमभुम्पा र मिल्सनले समान एक गोल फर्काएका थिए ।

खेलको १३औँ मिनेटमा मार्टिनेजको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, २७औँ मिनेटमा एमभुम्पाले गोल गर्दै रेड स्टारलाई खेलमा फर्काएका थिए । ४३औँ मिनेटमा लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।

५३औँ मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाको अग्रतालाई ३–१ मा राखे । जारी सिजन सबैखाले प्रतियोगिता गरी बार्सिलोनाबाट १६ खेल खेलका लेवान्डोवस्कीको यो १९औँ गोल हो ।

५५औँ मिनेटमा राफिन्हाले पाहुना टिमका निम्ति चौथो गोल गरे । ७६औँ मिनेटमा लोपेजले गोल गर्दा बार्सिलोनाले ५–१ को अग्रता बनाएको थियो । ८४औँ मिनेटमा मिल्सनले गोल गरे पनि घरेलु टिमको हार टार्न सकेनन् ।

जितसँगै चार खेलबाट नौ अंक जोडेको बार्सिलोना तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन सर्बियन क्लब रेड स्टार ३५औँ स्थानमा छ ।

नयाँ संरचनामा सञ्चालिन च्याम्पियन्स लिगको पहिलो चरणमा हाल ३६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्