site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रिल र रियल

सुधन सुवेदी


रिलमा देख्छु ज्ञानी
आकास पाताल जोड्ने ज्ञान
ती अटुट सम्बन्धका आयामहरू
देश विदेशका सयरहरू
चरा, पानी, पहाड
छुट्न बाँकी केही छैन
बाटो बढाउनेका कुरा
बढाउन नै नदिनेका दलिल
उत्पिडनको चित्कार
सकस, कोलाहल, कोलाज
पाँच मिनेटमा पाक्ने पकवान
हेर्नैपर्ने पाँच, भुल्न नहुने पाँच
जोड अनि घटाउका अंकगणित
पेट सुकाउने जुक्ति 
गला फुकाउने रियाज

रिल तन्किरह्यो
औंलाले एकपछि अर्को सार्दै गयो
मान पाउने, ज्ञान बढाउने
सारा तिकडम जानी जसै सकियो
रिलबाट रियल आइयो
मोबाइल चार्जमा राखेपछि बल्ल याद भो
जाँचका लागि तयारी पो गर्नुथियो 
रिलका चक्करमा दुई घण्टा सकिएछ
रेलै घुमेर गयो बैनीको आधी उमेर ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्