site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कमला ह्यारिसको बहुजातीय जरामा भविष्य खोजिरहेको अमेरिका

काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उमेदवार कमला ह्यारिसका बुबा र आमा दुवै अमेरिकाका लागि आप्रवासी हुन् ।

जमैकन बुबा र भारतीय आमाकी छोरी कमला ह्यारिसले मंगलबार सिकागोमा डेमोक्र्यायिटक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा मनोनयन दर्ता गरिन् । राष्ट्रपतीय चुनावमा कमलाको उपस्थितिले अमेरिकाको बदलिँदो जनसांख्यिकी देखाउँछ । ह्यारिसको चुनावी प्रतिस्पर्धाले अमेरिका तीव्र गतिमा परिवर्तन भइरहेको जातीय संरचनातर्फ संकेत गर्छ ।

४२ मिलियन अमेरिकी नागरिकले आफूलाई बहुजातीय व्यक्ति भन्ने गर्छन् । अर्थात्, फरकफरक देशका आमा र बुबाका सन्तान अमेरिकी नागरिक । अमेरिकी तथ्यांक ब्युरोका अनुसार देशको १३ प्रतिशत जनसंख्याले आफूलाई बहुजातीय व्यक्तिका रूपमा पहिचान गर्छ । सन् २००० अगाडि यसरी आफूलाई बहुजातीय व्यक्तिका रूपमा पहिचान गर्न नपाइने कानून थियो । अमेरिकाको तथ्यांक ब्युरोले व्यक्तिको पहिचानमा बहुजातीय विकल्प राखेपछि आफूलाई बहुजातीय व्यक्तिका रूपमा पहिचान गराउनेको संख्या २ प्रतिशतले बढेको छ ।

अमेरिका आफ्नै तौरतरिकाको एक ‘मेल्टिङ पट’ हो । यहाँका मान्छेका जरा र उद्गमस्थल संसारभर छरिएका छन् । तर, अमेरिकाका केही राज्यले सन् १९६० को नागरिक अधिकार कानुन र १९६७ मा अन्तर रंगीय विवाह गर्न नपाउने कानून खारेज भएपछि कानून आउनु अगाडिसम्म जातीय, रंगीय र व्यक्तिका आमा बुबाको देशका आधारमा विभाजन गर्थे ।

236270-01-02-1724346769.jpg
कानूनमा परिवर्तन भएपछि तीव्ररूपमा सामाजिक परिवर्तन भयो । सन् २००८ मा अमेरिकी इतिहासमा पहिलोपटक कालो रंगका राष्ट्रपति भए, बाराक ओबामा । यदि यो नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएमा ह्यारिस अमेरिकाको इतिहासम‌ै पहिलोपटक कालो महिला र दक्षिण एसियनका रूपमा छानिनेछिन्

"हामी अहिले ५० वर्ष अगाडिको समाजमा बाँछिरहेका छौँ, जहाँ हामी हाम्रो मिश्रित जातको राष्ट्रपति खोजिरहेका छौँ र यो साह्रै सुन्दर कुरा हो," बहुजातीय अधिकारकर्मीको समुह पिपुल अफ अमेरिकन वेका अध्यक्ष साभान्टे म्यारिकले सुनाए । साभान्टेका बुबा काला र आमा गोरा जातका हुन् ।

यसरी हेर्दा भविष्यमा अमेरिका अझै विविधतायुक्त हुने देखिन्छ । अमेरिकाको बहुजातीय जनसंख्याको ठूलो हिस्सा ४४ वर्षभन्दा कम उमेरको छ । यसको पनि एकतिहाइ हिस्सा बालबालिकाको छ ।

अमेरिकामा गोराहरूको बाहुल्य बहुमत घट्दै गएकामा केहीले भने चिन्ता पनि मानिरहेका छन् । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्मले केही दिन अगाडि काला पत्रकारहरूसँग एक भेटमा ह्यारिसनमाथि प्रश्न उठाउँदै भनेका थिए– 'उनी कालो हुन कि भारतीय ?’

ट्रम्पले कुनै पनि व्यक्तिले एउटा मात्र पहिचान देखाउनुपर्ने भन्दै ह्यारिसको बहुजातीय पहिचानमाथि टिप्पणी गरेका थिए ।

लामो समयदेखि ह्यारिस आफूलाई आफ्ना बुबा र आमा दुवैको पहिचानबाट चिनाउने गर्छिन् । ट्रम्पको भनाइमा ह्यारिसजस्तो बहुजातीय व्यक्तिले आमा वा बुबामध्ये एकको पहिचान रोज्नुपर्छ भन्ने केही अमेरिकनको भावना प्रतिविम्बित हुन्छ ।

यता डेमोक्र्याटहरू भने ह्यारिसबारे भन्छन्, "एउटै व्यक्तिमा धेरै देशको पहिचानको अनुभव हुनु भनेको त सम्पत्ति हो ।"

बहुसांस्कृति र बहुजातीय हुँदै गरेको अमेरिकामा केही राष्ट्रवादीहरूले भने यस्ता बहुजातीय व्यक्तिको संख्या बढेमा आफूलाई विस्थापित गरिने भन्दै अनलाइनहरूमा षड्यन्त्र सिद्धान्त पोस्ट गरिरहेका छन् । केही रिपब्लिकन कानून निर्मातााहरू भने रंगभेदी इतिहास लेखिएका किताब प्रतिबन्धित गर्नुपर्ने र यस्तो कुरा सिकाउने कक्षाहरू बन्द गरिनुपर्ने भनिरहेका छन् ।

अमेरिकामा बर्सेनि जातीय घृणाका कारण सिर्जित अपराधहरू हुने गर्छन् ।

रिपब्लिकन उमेदवार ट्रम्प आप्रवासीप्रति निर्मम छन् । उनी आप्रवासन र आप्रवासीको विरोधमा छन् । तर, रिपब्लिकनहरू आफूले देशको सीमा सुरक्षित गरेर अमेरिकी नागरिकलाई सुरक्षित मात्र राख्न खोजेको दाबी गर्छन् ।

तस्बिरहरू : एएफपी ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्