site stats
बाह्रखरी :: Baahrakhari
देश
कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै १० युवाले थाले आमरण अनशन

काठमाडौं । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय युवाहरूले सामूहिक आमरण अनशन थालेका छन् । स्थानीयहरूले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि अनशन थालेका हुन् ।

गत सातामात्रै उनीहरूले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन सातदिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । तर, मुख्यमन्त्रीले आफूहरूको मागप्रति बेवास्ता गरेपछि आमरण अनशन थालेको कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए ।

"मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसँग पहल गर्न भनेका थियौँ । तर, त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भीरता देखाएको छैन," उनले भने ।

उनीसहित १० जना युवा आमरण अनशनमा बसेका छन् । सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजित यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्