
काठमाडौं । फाइनलमा भारतविरुद्ध आठ विकेटको जित निकाल्दै श्रीलंका पहिलोपटक एसीसी महिला एसिया कप च्याम्पियन बनेको छ ।
आइतबार दमुल्लामा भएको खेलमा भारतले प्रस्तुत गरेको १६६ रनको लक्ष्य घरेलु टिम श्रीलंकाले १८.४ ओभरमा पूरा गर्दै पहिलोपटक महिला एसिया कपको उपाधि जितेको हो ।
श्रीलंकालाई जित दिलाउन हर्षिता समराविक्रमाले ६९ रन बनाइन् । ७–१ को अवस्थाबाट समरविक्रमाल कप्तान चमिरा अटापथ्थुसँग ८७ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ सम्हालेका थिए । कप्तान अटापथ्थुले ४३ बलमा नौ चौका र दुई छक्कासहित ६१ रन बनाइन् । कविशा दिलहारीले १६ बलमा एक चौका र दुई छक्कासहित अविजित ३० रन थपिन् ।
भारतबाट दीप्ति शर्माले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो ।
भारतकी स्मृति मन्दनाले ६० रन बनाइन् । रिचा घोषसले ३०, जेमिमाह रोड्रिगेजले २९, सफाली वर्माले १६ र कप्तान हर्मनप्रित कौरले ११ रन थपिन् ।
श्रीलंकाकी कविशा दिलहारीले दुई विकेट लिइन् । उडेशिका प्रोबोधानी र चमिरा अटापथ्थुले समान एक विकेट लिए ।
महिला एसिया कपको इतिहासमा प्रतियोगिताको सबैभन्दा सफल टिम भारतले सातपटक उपाधि जितेको छ । यस्तै, बंगलादेश एकपटक च्याम्पियन बनेको छ ।