site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले आर्थिक कूटनीतिकबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छन् ।

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औँ वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहमा उनले भनिन्, “यहाँहरू यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो । यहाँहरू जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरूलाई आग्रह गर्दछु ।”

मन्त्री राणाले नेपालको संस्कृति, पर्यटन र सम्पदाहरू संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्‍याउन आग्रह गरिन् । उनले संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखिन् । साथै, उनले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पुर्‍याउन आग्रह गरिन् ।

“मलाई लाग्छ राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ । अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ । त्यसैले यहाँहरूलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्