site stats
बाह्रखरी :: Baahrakhari
खेल
सीताले नै दिलाइन् नेपाललाई दोस्रो सफलता, सिफाली ८१ रन बनाएर आउट

काठमाडौं । एसीसी एसिया कपमा भारतविरुद्ध नेपालकी सीता रानामगरले नै दोस्रो सफलता दिलाएकी छन् ।

श्रीलंकाको धमुल्लामा टस हारेर फिल्डिङमा आएको नेपालले १५.३ ओभरमा भारतको दोस्रो विकेट लिएको हो । नेपालकी सीताले भारतकी ओपनर सिफाली वर्मालाई विकेटकिपरबाट स्टम्प गराइन् । सिफालीले भारतको स्कोरबोर्डमा ८१ रन बनाइन् ।

सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाइन् ।

जारी खेलको १६ ओभर समाप्त हुँदा भारतले दुई विकेट गुमाएर १३५ रन बनाएको छ ।

महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।

समूह ‘ए’बाट भारत यसअघिका दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । समान खेलबाट दुई अंकको नेपाललाई भने सेमिफाइनल सम्भावना कायम राख्न आज जितको दबाब छ ।

भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्