site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धन सरकारमा कांग्रेसका मन्त्री : शेखर समूहलाई ठोस जानकारी नगराउँदा अन्योल 

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री छनोटमा संस्थापन पक्ष र संस्थापनइतर पक्ष सक्रिय भएका छन् । दुवैतर्फबाट मन्त्री सिफारिस गरेपछि एकमुष्ठ सिफारिस गर्न समूहगत छलफल चलिरहेका छन् । तर, संस्थापनइतरका लागि संस्थापनले मन्त्रीहरूको संख्या स्पष्ट नपार्दा अन्योल देखिएको छ । 

आइतबार बिहान डा. शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा भएको छलफलमा नेताहरूबीच कसलाई मन्त्री बनाउने भन्नेमा विषय प्रवेश नै हुन पाएन । 

Argakhachi Cement Island Ad

एमालेसँगको गठबन्धनमा बन्ने नयाँ सरकारमा कांग्रेसले १० मन्त्रालय पाउँदा संस्थापनले चार मन्त्रालय सिफारिसका लागि भनेको थियो । तर, अहिले घटेर आठ भएपछि के हुने भन्ने जानकारी नगराएको नेताहरूले बताएका छन् । 

समूहको बैठकमा नेता डा. शेखर काइराला, उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय ब्रदी पाण्डे र जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी तथा दिलेन्द्रप्रसाद बडू सहभागी थिए । तर, उनीहरूबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुनै निर्णय हुन सकेन ।

“हामीले गठबन्धन व्यवस्थापन गरेर काम गर्न सक्ने र अनुभवी मानिसलाई मन्त्रीमा सिफारिस गर्नुस् भन्ने सुझाव दिएर  बाहिरिएका छौँ,” नेता अर्जुननरसिंह केसीले भने । केसीले मन्त्री छान्ने जिम्मा डा. कोइराला र महामन्त्री थापाले मिलेर गर्नुस् भनेको पनि जानकारी दिए । 

बैठकमा सहभागी अर्का नेताका अनुसार मन्त्री छान्न जिम्मा दिने विषयमा भने कुनै निर्णय नभएको बताए । उनका अनुसार नेताहरू आफैँ बसेर निर्णय गर्ने गरेको भन्दै बैठकबाट कुनै नेता विशेषलाई जिम्मेवारी नतोकिएको बताए । “नेता शेखर कोइराला, उपसभापति, महामन्त्रीहरूले आवश्यकताअनुसार छलफल गरेर निर्णय गर्ने यसअघिकै अभ्यास हो, निर्णय नेताहरूले नै गर्ने हो,” ती नेताले भने, “तर, हामीले कुनै नेतालाई पनि म्यान्डेट तोक्ने निर्णय गरेका छैनौँ ।”

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्