site stats
बाह्रखरी :: Baahrakhari
खेल
अजलको अर्को राष्ट्रिय कीर्तिमान

काठमाडौं । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।उनले पुरुष १०० मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् । अनुभवको नाममा ५९.७७ सेकेन्डको कीर्तिमान थियो ।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए । अजलले २६औँ राष्ट्रिय पौडी प्रतियोगितामा आफैँले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।

Argakhachi Cement Island Ad

प्रतियोगितामा जम्मा तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवालेले बनाएका थिए । दिवाकरले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी दुई मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको दुई मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए । कीर्तिमानधारीले प्रत्येक कीर्तिमानवापत पाँच हजारका दरले नगद पुरस्कार पाए ।

प्रतियोगितामा १६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोस्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो बने । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २०० मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जनाएका छन् । दुईदिने प्रतियोगितामा ३५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्