site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फाइल खोल्छु भन्दै धम्क्याउन छोड्नुस् : सांसद गौतम 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापन गरेर जनताको ज्यान जोगाउन सरकारले गरेको काम सदनलाई जानकारी गराउन अनुरोध गरेकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशैभर बाढीपहिरोले जनधनको क्षति भएको करोडौँको संख्यामा भौतिक पूर्वाधार बाढीले बगाएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । 

उनले नेपाल जलवायु परिवर्तनको जोखिमको हिसाबले चौथो नम्बरमा पर्ने देश रहेको भन्दै यसतर्फ पनि सरकार गम्भीर बन्नुपर्ने विषय उठान गरिन् । सांसद गौतमले यो वर्ष मनसुन भित्रेको २५ दिनमै देश यति धेरै आक्रान्त बन्दा समेत सरकार किन उदासिन भएर जनताको सेवामा नलागेको भन्ने प्रश्न गरिन् ।

Argakhachi Cement Island Ad

उनले दसैँ तिहार जस्तै मनसुन पनि हरेक वर्ष सक्रिय हुने भन्दै यसतर्फ सरकारले दीर्घकालीन योजना बनाएर काम नगरेको देख्दा जनताले सरकारबाट आश के गर्ने भन्ने विषय उठाइन् । “राज्य गम्भीर नभएको स्थितिमा नागरिकले दुःख पाएका छन् । राज्य छ, सरकार छ केही गर्छ भन्दा भन्दै विपद्को सामना गर्नुपर्छ,” उनले भनिन्, “राज्य छ कि छैन ? गम्भीर भएर विपद्का लागि राज्य तयारी भएर बस्नुपर्छ । गम्भीर ढंगबाट राज्य अघि बढोस् ।” 

उनले काठमाडौंमा खोला नपसेको भन्दै खोलामा बस्ती बस्दा बढी क्षति भएको समेत उल्लेख गरिन् । साथै, उनले यस्तो विपद्को अवस्थामा डेंगी संक्रमण बढ्ने भन्दै त्यसको नियन्त्रण गर्न सरकारले के गरेको छ सदनलाई जानकारी दिन अनुरोध गरिन् । उनले यो फाइल खोल्छौँ, त्यो खोल्छौँ भनेर धम्काउन छोडेर विपद् व्यवस्थापनमा लाग्न अनुरोध गरिन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्