site stats
बाह्रखरी :: Baahrakhari
देश
मेरलायन समेतले १९ करोड सम्पत्ति शुद्धीकरण गरेको ठहर, असार ३० गते सजाय निर्धारण

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको मेरलायन इन्टरप्राइजेज प्रालि र त्यसमा संलग्न व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारु, तेवजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार १९ करोड सम्पत्ति शुद्धीकरणमा दोषी ठहर हुने फैसला गरेको हो ।

प्रतिवादी रहेका मुक्तिनाथ गौतम, एसकुमार महर्जन, कुशन प्रधानसहितले विल्वा भूमि वन प्रालिका नाममा दर्ता रहेको किता नम्बर–१०६९ को १२ बिघा एक कट्ठा जग्गा किर्ते गरी डेनियल ट्रेडिङ कम्पनी प्रालिका नाममा सारी कुमारी बैंक न्युरोड शाखाबाट १९ करोड ऋण निकालेका थिए । त्यसरी कर्जाबापत लिएको पैसा गौतम, महर्जन र प्रधानले मेरलायनका उविन्द्रराज शाक्यलाई विल्वा भूमि वन प्रालिको जग्गा बिक्री गर्न नक्कली अख्तियारी दिएका थिए । डेनियल ट्रेडिङ कम्पनी प्रालिका नामको किर्ते जग्गाधनी प्रमाणपुर्जा बनाएर उनीहरूले उक्त कम्पनीका नाममा १९ करोड ऋण स्वीकृत गराएका हुन् ।

त्यही रकम रेशमबहादुर सिलवाल समेतले विल्वा भूमि वन प्रालिकै नाममा नक्कली खाता खोलेर डेनियलको नामको ऋण रकम त्यसमा स्थानान्तरण गरी सम्पत्तिको रूपान्तरण गरेको विशेष अदालतको ठहर छ ।

नक्कली विल्वा भूमि वन प्रालिको खाताबाट १५ करोड मेरलायन इन्टरप्राइजेजका नाममा सारेपश्चात् खाता बन्द गरेर उनीहरूले सम्पत्ति प्रयोग गरेका थिए । मेरलायन इन्टरप्राइजेजको खाताबाट उविन्द्रराज, शोभा शाक्य, रामप्रसाद अधिकारी समेत विभिन्न व्यक्तिका नाममा धारण गरी कारोबार गरेको देखिएको विशेषको ठहर छ ।

प्रतिवादीहरू डेनियल ट्रेडिङ कम्पनी लिमिटेडका गौतम, एसकुमार, विल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि सिलवाल, मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज र मेरलायन इन्टरप्राइजेजले सम्पत्ति शुद्धीकरण गरेको ठहर विशेष अदालतले गरेको हो । उनीहरूको सजाय निर्धारणका निम्ति यही असार ३० गतेलाई पेसी तोकिएको छ ।

विशेष अदालतले प्रतिवादीहरू अनुजमणि तिमिल्सिना र स्मृति जोशीलाई भने सफाइ हुने फैसला गरेको छ ।

f1-1720358311.jpgf2-1720358311.jpg
 

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्