site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
साइबर सुरक्षाका लागि वेब मोनिटरिङ प्रणाली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वेबसाइटमा हुन सक्ने साइबरजन्य सुरक्षा जोखिम न्यूनीकरणको लागि वेब मोनिटरिङ प्रणाली अवलम्बन गरिएको बताएकी छन् ।

सञ्चारमन्त्री शर्माले बिहीबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८१ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा सबै सरकारी निकायको वेबसाइटमा एकरूपता ल्याएर सूचनाको पहुँचमा सहजता ल्याउने काम गरिएको बताइन् ।

यस्तै, वेबसाइट निर्माण तथा सञ्‍चालनको लागत घटाउन एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाएर विस्तार गरिने उनको भनाइ छ ।

उनले आगामी साउन १ गतेदेखि लागु हुने 'दूरसञ्‍चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८०'ले सरकारलाई फाइदा हुने पनि दाबी गरिन् ।

उनले भनिन्, “यस व्यवस्थाले मोबाइल सेवा प्रदायकहरूबाट नेपाल सरकारलाई वार्षिकरूपमा प्राप्त भैरहेको रेडियो फ्रिक्वेन्सी बापतको शुल्कमा वृद्धि भई हरेक वर्ष थप ४० करोड रुपैयाँ प्राप्त हुन सक्नेछ ।”

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्