site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतलाई नोभेम्बर १९ को पीडा भुलाउने अवसर, जितको दबाबमा अस्ट्रेलिया 

काठमाडौं । घरेलु मैदानमै भएको एकदिवसीय विश्वकपको फाइनलमा व्यहोरेको हारको पीडा भुलाउँदै आज आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतले अस्ट्रेलियाको सामना गर्दै छ । गत नोभेम्बर १९ मा अस्ट्रेलियाले विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी रंगशालामा करिब एक लाख घरेलु समर्थकमाझ भारतलाई निराश बनाउँदै छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । 

आज सुपर–८ अन्तर्गत समूह–१ को खेलमा अस्ट्रेलियाविरुद्ध मैदान उत्रिँदा भारत सोही हारको बदला लिने लक्ष्यमा हुनेछ । आजको खेलमा जित निकाले भारतले सम्भवतः अस्ट्रेलियाको विश्वकप यात्रामा समेत पूर्णविराम लगाउने छ । यद्यपि, यी दुई टिमबीचको नतिजालाई यसै समूहको अर्को खेल अफगानिस्तान र बंगलादेशबीचको प्रतिस्पर्धासमेत फरक पार्नेछ । 

भारत आईसीसी ट्वान्टी–२० वरीयताको शीर्ष टोली हो । तर, आईसीसीको सबैभन्दा सफल टिमविरुद्ध शीर्ष वरीयताको टोली दबाबरहित भने पक्कै हुने छैन । ट्वान्टी–२० विश्वकपको इतिहासमा दुवै टिमले हालसम्म समान एक पटक उपाधि जितेका छन् । भारतले यसअघि सन् २००७ मा भएको ट्वान्टी–२० विश्वकपको पहिलो संस्करण नै जितेको थियो । अस्ट्रेलिया भने सन् २०२१ को विश्व च्याम्पियन हो । अस्ट्रेलियाविरुद्धको खेलअघि भारतका बलिङ प्रशिक्षक पारस म्हाम्ब्रेले समर्थकले नोभेम्बर १९ को याद ताजै रहेको भए पनि टिम खेलमा केन्द्रित रहेको बताए । 

“हामीले गर्न सक्ने भनेको योजनालाई कार्यान्वयन गर्नु हो । यसमा मुख्य कुरा भनेको सही ढंगबाट योजना अघि बढाउनु हो । यदि योजना राम्रोसँग कार्यान्वयन भए सबै खेल जितिन्छ,” उनले भने, “उनीहरू कस्तो योजनासहित आउनेछन् भन्नेबारे हामी राम्रो जानकार छौँ । उनीहरूले यसअघि पनि सोही योजनाअनुसार खेलेका थिए । यसपटक हामी विपक्षीलाई पछि पार्छौँ भन्नेमा विश्वस्त छौँ ।” 

समूह–१ मा दुई खेलमध्ये एक खेलमा हार व्यहोरेको अस्ट्रेलियामाथि सेमिफाइनल पुग्न जित्नै पर्ने दबाब छ । समान खेलबाट चार अंक जोडेको भारत केही हदसम्म सहज अवस्थामा छ । तर, अस्ट्रेलियासँगको फराकिलो हार र अफगानिस्तानले बंगलादेशविरुद्ध त्यस्तै जित निकाले भारतको पनि सेमिफाइनल सम्भावना समाप्त हुने समीकरण कायमै छ । 

खेलअघि अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्ड पनि आफ्नो टिमप्रति विश्वस्त देखिए । “यसअघिको खेलमा हामी कहाँ गलत रह्यौँ भन्ने कुरा खेलाडीले महसुस गरिसके । उनीहरूले अनुभव बटुले । भारतविरुद्धको खेलअघि अझ बलियो रूपमा हामीले पुनरागमन गर्छौँ भन्ने कुरामा शंका छैन,” प्रशिक्षक म्याकडोनाल्डले भने ।

वेस्ट इन्डिजको ग्रोज आइलेमा हुने खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्