site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तानको पहिलो जित, क्यानडालाई सात विकेटले हरायो

काठमाडौं । ओपनर मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तानले जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको छ ।

मंगलबार न्यूयोर्कमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेटको गुमाएर पूरा गर्‍यो ।

जारी प्रतियोगितामा पाकिस्तानले तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

पाकिस्तानको जितमा ओपनर रिजवानले अविजित ५३ रन बनाए । उनले ५३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । १–२० को अवस्थाबाट रिजवानले कप्तान बाबर आजमसँग ६३ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्‍याएका थिए । आजमले ३३ बलमा समान एक चौका र छक्कासहित ३३ रन बनाए र सैम अयुवले ६ र फखरले जमानले चार रन जोड्दा उस्मान खानले दुई रन थपे ।

क्यानडाका दिलोन हाइलिजरले दुई र जेरेमी गोर्डोनले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो । 

क्यानडाका आरोन जोन्सनले सर्वाधिक ५२ रन बनाए । कलिम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानका मोहम्मद आमिर र ह्यारिस रौफले समान दुई विकेट लिए । साहिन साह अफ्रिदी र नसिम साहको नाममा समान एक विकेट लिए । 

प्रतियोगितामा पहिलो जित निकालेको पाकिस्तान तीन खेलबाट दुई अंक जोडेको पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ । पाकिस्तानले यसअघि अमेरिकासँग सुपर ओभरमा र भारतसँग ६ रनको हार बेहोरेको थियो । समान खेलबाट दुई अंक जोडेको क्यानडा तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्