site stats
बाह्रखरी :: Baahrakhari
खेल
बंगलादेशमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार दक्षिण अफ्रिकाले बंगलादेशमाथि चार रनको जित निकालेको हो ।

दक्षिण अफ्रिकाबाट ११४ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो ।

बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ३७ रन बनाए । महमुदूल्लाह रियादले अविजित २० रन बनाए । नाज्मुल हसन सान्टो १४ रन बनाउँदा तान्जिद हसन र लिटन दासले समान ९–९ रन बनाए । ज्याकर अलीले आठ रन ‍र सकिब अल हसन तीन रन जोडे ।

बलिङतर्फ केशव महाराजले तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्त्जेले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । अर्धशतक बनाउन चार रनले चुकेका क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरे । डेविड मिलरले २९ र क्विन्टन डी ककले १८ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट लिए ।

जितसँगै ६ अंकका साथ दक्षिण अफ्रिका समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ । तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ ।

यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, श्रीलंका र नेपाल पनि छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २३:४७
प्रतिक्रिया दिनुहोस्