site stats
बाह्रखरी :: Baahrakhari
खेल
तीव्र गतिका बलर चम्किँदा पाकिस्तानले भारतबाट पायो १२० रनको लक्ष्य

काठमाडौं । तीव्र गतिका बलर चम्किएपछि आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई ११९ रनमै रोकेको छ ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएपछि पाकिस्तानले जितका निम्ति १२० रनको लक्ष्य पाएको हो ।

भारतका ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन थपे । यसबाहेक, भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका दुई ब्याटर गोल्डेन डक हुँदै पभेलियन फर्किएका थिए ।

भारतलाई मध्यम योगफलमा रोक्न पाकिस्तानका चार तिव्र गतिका बलरले नौ विकेट लिए । पाकिस्तानका नसिम साह र ह्यारिस रौफले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका नसिमले २१ र तीन ओभर बलिङ गरेका रौफले पनि २१ रन नै खर्चिए ।

यसबाहेक, मोहम्मद आमिरले दुई विकेट लिँदा साहिनसाह अफ्रिदीले एक विकेट हात पारे ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २३:२५
प्रतिक्रिया दिनुहोस्