site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साताको सेयर बजार : नेप्से, कारोबार रकम र बजार पुँजीकरण बढ्यो  

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । साताको पाँच दिन नै कारोबार भएको बजारमा २० अर्ब ७८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

पाँच दिनको अवधिमा नेप्से परिसूचक ८.२५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गत साताको अन्तिम कारोबार दिन २०६९.५३ विन्दुमा रोकिएको नेप्से यस साताको अन्तिम कारोबार दिन बिहीबार २०७७.७८ विन्दुमा पुगेर बन्द भएको छ ।

यस साताको पाँच कारोबार दिनमध्ये बजार तीन दिन घट्दा दुई दिन बढ्यो ।

आइतबार बजार १३.५१ अंकले बढ्यो भने मंगलबार ६.२२ अंकले बढेको थियो । तीबाहेक सोमबार ३.९७ अंक, बुधबार ५.५८ अंक र बिहीबार १.९३ अंकले नेप्से परिसूचक घटेको थियो । 

गत साताको सोमबार बजार ३.८९ अंकले बढेको थियो भने तीन कारोबार दिन बजार घटेको थियो । गत साताको आइतबार बजार २२.१४ अंकले घटेको थियो । त्यस्तै, बुधबार २३.८१ अंक र बिहीबार १९.८९ अंकले बजार घटेको थियो । गत साताको मंगलबार बजार बाचत गरेपछि बजार लगातार दुई दिन नै उच्च अंकले घटेको थियो ।

गत साताको तुलनामा यो साता कारोबार रकम तीन अर्ब ६५ करोड ३१ लाख रुपैयाँले बढेको छ । गत साताको चार कारोबार दिनमा १७ अर्ब १२ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

गत साताको तुलनामा कुल बजार पुँजीकरण १३ अर्ब सात करोड ३७ लाख रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको तुलनामा गत साता भने कुल बजार पुँजीकरण करिब एक खर्बले घटेको थियो । यो साताको अन्तिम करोबार दिन कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण ३२ खर्ब ८१ अर्ब ६६ करोड रुपयाँ कायम भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्