site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सोही मागलाई दोहोर्‍याउँदै कांग्रेस सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । 

शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद उठेर विरोध जनाएपछि कार्यसूचीमै प्रवेश नगरी बैठकलाई स्थगित गरिएको हो । कांग्रेसको अवरोधपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी शुक्रबारको बैठक स्थगित गरेका हुन् । 

बैठक स्थगित गर्नुअघि अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए । “संसद्‌मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन । जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौँ । बजेट प्रस्तुत हुने दिन आइसक्यो । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष दाहालले भने । 

तर, अध्यक्ष दाहालको आग्रहलाई अस्वीकार गर्दै कांग्रेस सांसदहरूले विरोध कायम राखे । यसपछि बैठक स्थगित गरिएको हो । 

यस्तै, शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी आउँदो आइतबारसम्मका लागि स्थगित गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्