site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वमन्त्री गोविन्दराज जोसीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै 

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोसीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा यही जेठ १ गतेदेखि हेर्दाहेर्दैमा राखिएको मुद्दामा मंगलबार फैसला आउने सम्भावना छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जोसीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासु दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले मुद्दा खारेजी गरेपछि जोसीले सफाइ पाएका थिए । त्यसविरुद्ध अख्तियार र जोसीको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ०७० भदौ १२ मा झगडिया झिकाउने आदेश गरेका थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्