site stats
बाह्रखरी :: Baahrakhari
देश
बेलायत, क्यानडा र स्पेन पठाइनदिने भन्दै ठगी, चारजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने आश्वासन दिएर ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भई हाल काठमाडौं आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका–९ इमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य र रामेछाप मन्थली नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन् । 

Argakhachi Cement Island Ad

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाहरूमध्ये रिञ्जिनले निराजन केसीसमेत १० जनालाई बेलायत पठाइदिने भन्दै ५६ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

त्यसैगरी, प्रकाश बज्राचार्य एवं कल्पना बज्राचार्यले नरेश महर्जनसमेत दुई जनालाई क्यानडा पठाइदिने भन्दै १५ लाख तथा चन्द्रमाया थापा कार्कीले राकेश ओझालाई स्पेन पठाइदिने भन्दै दुई लाख रुपैयाँ लिएको उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

आरोपितहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्