site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीका १४ जिल्लामा भेटेरिनरी अस्पताल बनाइने, कटारी अस्पताल अब ५० बेड क्षमताको

विराटनगर । कोसी प्रदेश सरकारले उदयपुरको कटारी अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । अब यो अस्पताल ५० बेड क्षमतामा सञ्चालन हुनेछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले अस्पताललाई १५ बेडबाट स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धि गर्न स्थानीयले माग गर्दै आएका थिए । अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ, सप्तरी र सिरहाका आधाजसो सेवाग्राहीले उपचार सेवा लिन आउने गरेका छन् ।

प्रदेश कृषि मन्त्री रामकुमार खत्रीले मन्त्रिपरिषद् बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको जानकारी दिए ।

“पशुपालन व्यवसायलाई निर्वाहमुखीबाट व्यवसायीकीकरण गरी दुध, अन्डा, मासु, उनलगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवम् निर्यात गर्न सक्ने चरणमा पुर्‍याउने उद्देश्यका विज्ञ केन्द्र तथा अस्पताल निर्माण गर्ने निर्णय गरिएको हो,” मन्त्री खत्रीले भने, “खोरेत, पीपीआर, स्वाइन फिवर, रानीखेत, एचएसबीक्यूलगायतका रोगबाट मुक्त कोसी प्रदेश बनाउने महत्त्वकांक्षी योजना हामीले बनाएका हौँ ।”

उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकारसँग हातेमालो गर्दै संघीय सरकार समेतको सहकार्यमा कोसी प्रदेशमा गाई, भैँसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, याक, नाक, चौरीलगायतका पशुपन्छीको उत्पादन र उत्पादकत्व बढाउने, स्वरोजगार बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात बढाउन पशु सेवा, पशु स्वास्थ्य, नश्ल सुधार, घाँस उत्पादन क्षेत्र किसानलाई विज्ञ केन्द्र र अस्पतालले सहयोग गर्ने जनाएको छ ।

उनले नयाँ प्रविधि किसानको गोठमा पुर्‍याउन, किसानका समस्या अनुसन्धान केन्द्र र सरकारसम्म पुर्‍याउन सहज बनाउने उद्देश्यले कोसी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गर्ने निर्णय भएको सुनाए ।

यसअघि, कोसीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालविहीन थिए । प्रदेश स्थापनाको ६ वर्षको अवधिमा भेटेरिनरी सेवालाई पूर्णता दिन आफूहरू सफल भएको मन्त्री खत्रीले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्