site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश र स्थानीय तहमा व्यापक गुटबन्दी, नेतालाई सिरानी हाल्ने प्रवृत्ति देखियो

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको प्रदेश र स्थानीय तहमा गुटबन्दी देखापर्न थालेको निष्कर्ष निकालेको छ । केन्द्रीय प्रतिनिधि परिषद्को बैठकमा उपमहाचिव प्रदीप ज्ञवालीले प्रस्तुत गरेको पार्टी सुदृढीकरणसम्बन्धी प्रस्तावमा स्थानीय अन्तरविरोधमा केन्द्रका नेताको 'सिरानी हाल्ने' प्रवृत्ति हुर्किएको उल्लेख छ ।

“प्रदेश र स्थानीय तहका कतिपय कमिटी अन्तरविरोध ग्रस्त छन् । कतिपयमा गम्भीर विकृति गुटबन्दी देखा पर्न थालेका छन् । कमिटी प्रणालीलाई बेवास्ता गर्ने र निश्चित व्यक्तिको सेटिङमा पार्टीलाई बन्धक बनाउन खोज्ने प्रवृत्ति हुर्कँदै गएको छ,” बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, “स्थानीय अन्तरविरोधमा पार्टीको यो वा त्यो नेतालाई जोड्ने वा सिरानी हाल्ने प्रवृत्ति देखिन थालेको छ । व्यक्तिगत वा गुटगत स्वार्थद्वारा निर्देशित पद, प्रतिष्ठा र मर्यादा र सुविधा लक्षित अन्तरविरोधले पार्टीलाई नराम्रोसँग गाँज्न खोज्दै छ ।” 

अन्तरविरोध सोही कमिटीमा छलफल गरी समाधान गर्नुपर्ने उल्लेख छ ।

UML-1713707688.jpg
 

त्यस्तै, एमालेले पार्टीमा आर्थिक आचारण र यौन आचरणमा नैतिक बन्धन तोड्न खोज्ने प्रवृत्ति हुर्कंदै गएको निचोड निकालेको छ । यस्तो कार्यले जनताबाट पार्टीलाई अलग गर्ने खतरा रहने प्रस्तावमा उल्लेख छ ।

बैठकले पारित गरेको प्रस्तावमा नेता र कार्यकर्ताको आचार पार्टीको नीति र उद्देश्यअनुसार हुनुपर्ने जनाइएको छ । 

“आर्थिक अनियमियता, भ्रष्टाचार, नैतिक आचरणको आरोपित स्वयंले आफूमाथि लागेका आरोपका सत्यतथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउनुपर्दछ । राजनीतिकरूपमा प्रतिशोध साँध्न लगाइने झुटा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्छ । प्रक्रिया पूरा गरी मुद्दा चलाइएकाहरूलाई कानुन बमोजिमको छानबिनमा राज्यका निकायलाई सहयोग गर्नुपर्छ,” प्रस्तावमा भनिएको छ ।

फैसला नभएसम्म बहाल पदबाट निलम्बन गर्ने र दोषी ठहरेमा पदमुक्त गर्नुपर्ने पनि प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्