site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एमाले निकट उद्योग व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

काठमाडौं । नेकपा (एमाले)को भातृसंगठनको रूपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव थिए ।

त्यस्तै, महासंघको महासचिवमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् । शिवाकोटी मेगा बैंकका पूर्वसञ्चालक एवम् कालिन्चोक केवलकारका अध्यक्ष हुन् । पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुन् ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको सो महासंघमा विभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेको बताइएको छ ।

यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिवेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रूपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको हो । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी पाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्