site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लामिछानेलाई प्रदीप पौडेलको प्रश्न– निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट आफूहरू पछि नहटेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

छानबिन समिति बनाउनुपर्ने अडानबाट कांग्रेस पछि नहट्ने उनले स्पष्ट पारे । “...सहकारीको विषय केही तथ्यहरूसँग जोडिएको छ । हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो,” उनले भने, “समिति बनाउँदा सत्ताको अंकगणितको आधारमा हुन्छ ।”

निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नभएको ? भन्दै उनले प्रश्न गरे । उनले कुनै पनि घटनाविशेषको सत्यतथ्य खोजिनुपर्नेमा जोड दिए ।

“...छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ,” उनले भने, “दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो ? हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन ।”

आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको उनले उल्लेख गरे । भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आजसम्मका अनियमितताको छानबिन अपरिहार्य भएको उनले बताए ।

सांसद पौडेलले यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बनाइएको स्मरण गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्