site stats
बाह्रखरी :: Baahrakhari
खेल
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली धावकको वर्चस्व

रुपन्देही । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय पिस म्याराथनका सबै पुरस्कार नेपाली धावकले जितेका छन् । म्याराथनमा नेपाल, चीन, पाकिस्तान र श्रीलंकाका धावकहरू सहभागी थिए ।

पुरुषतर्फको म्याराथनको उपाधि बागलुङका तीर्थ पुनले जिते । निर्धारित ४२.१९५ किलोमिटरको दूरी पुनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गर्दै स्वर्णपदकसँगै नगद पाँच लाख रुपैयाँ प्राप्त गरे ।

सोही दूरी दुई घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गर्दै नेपाली सेनाका खड्कबहादुर खड्काले दोस्रो स्थान हासिल गरे । उनले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । कर्णालीका दुर्गाबहादुर बुढाले दुई घण्टा २२ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनले दुई लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा अनिस थापा चौथो (एक लाख रुपैयाँ), किरण बोगटी पाँचौँ (८० हजार), सुशीलकुमार शाही छैटौँ (६० हजार), होमलाल श्रेष्ठ सातौँ (४० हजार), जुनेश खड्का आठौँ (२० हजार), राजन चौधरी नवौँ (१० हजार) र प्रकाश गैरेले दशौँ स्थान (पाँच हजार रुपैयाँ) हासिल गरे ।

अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । श्रेष्ठले निर्धारित उक्त दूरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

यस्तै, नेपाली सेनाकी पूर्णराज्यलक्ष्मी न्यौपानेले एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन् । एपीएफकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

विजेता श्रेष्ठले दुई लाख, न्यौपानेले एक लाख ६० हजार र भण्डारीले एक लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे ।

पाँच किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी पहिलो, कुसुम ठगुना दोस्रो र भुमा चौधरी तेस्रो हुन सफल भए । छात्रतर्फ उमेश बरई पहिलो, सन्देश पाण्डे दोस्रो र आशिषकुमार क्षेत्रीले तेस्रो स्थान हासिल गरे ।

खुला पाँच किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर पहिलो, अक्कलबहादुर पाल दोस्रो र गणेशसिंह राउत तेस्रो भए । पाँच किलोमिटर दौडको महिलातर्फ सिर्जना पाण्डे पहिलो, आशा राउत दोस्रो र निर्मला केसी तेस्रो भए ।

पाँच किलोमिटरका सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः जनही १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । रासस

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्