site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
श्रद्धाञ्जली सभामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा 

काठमाडौं । नेपाल स्रष्टा समाजले संस्थाका प्रमुख सल्लाहकार तथा वरिष्ठ आख्यानकार परशु प्रधानप्रति श्रद्धासुमन अर्पण गर्न श्रद्धाञ्जली सभाको आयोजन गरेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न श्रद्धाञ्जली सभामा स्रष्टा समाजसहित नेपाली शिक्षा परिषद्, साहित्यिक पत्रकार संघ, एपेक नेपाल, यशश्वी प्रतिष्ठान, शिवपुरी साहित्य समाज, नेपाल नियात्रा समाज, लघुकथा समाज, भूगोल साहित्य समाज, लघुकथा कुनो, भानु प्रतिष्ठान, नेपाल मुक्तक प्रतिष्ठान, जनमत वाङ्मय प्रतिष्ठान, पारिजात स्मृति केन्द्र, रचना पत्रिका, अभिव्यक्ति पत्रिका, दायित्व वाङ्मय प्रतिष्ठान, कर्मयोगी बद्रीविक्रम स्मृति सेवा गुठी, पुष्पपराग साहित्य प्रतिष्ठानलगायत ५० भन्दा बढी साहित्यिक संघ संस्थाले श्रद्धापुष्प समर्पण गरे ।

Argakhachi Cement Island Ad

सभामा प्रा.डा. कृष्णप्रसाद दाहालले आख्यानकार प्रधानले नेपाली आख्यान साहित्यमा पुर्‍याएको योगदानबारे बोले । कथाकार प्रधानका जीवन्त कथाहरू पढेर कतिपयले कथा लेख्न थालेको बताउँदै डा. दाहालले उनको साहित्यिक क्रियाशीलताका अनेक आयामहरूको चर्चा गरे ।

साहित्यकार पवन आलोकले आख्यानकार प्रधान आफ्नो 'गडफादर' नै भएको उल्लेख गर्दै उनीसँगका विभिन्न स्मरणहरू साझा गरे ।

आख्यानकार प्रधानका सुपुत्र, बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले आफ्ना पितासँगका केही सन्दर्भहरू स्मरण गर्दै आफ्नो र दिदी–भाइहरूको बाल्यकाल पिताजीको साहित्यकर्मसँगै बितेको बताए । 

प्रधानले पिताको नाम चीरस्थायी राख्न आफूहरूले केही काम गर्ने सोचाइ राखेको उल्लेख गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले आख्यानकार परशु प्रधान आफैँमा सिङ्गो संस्था भएको उल्लेख गर्दै उनको निधनले नेपाली आख्यान साहित्यमा ठूलो खाडल परेको बताए । 

नेपालका सशक्त आख्यानकार परशु प्रधानको यही चैत ५ गते राति निधन भएको थियो । 
   
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्