site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार : ६ जनाविरुद्ध मुद्दा, दुई करोड ८९ लाख बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सोही घटनामा अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) खरिद मूल्यांकन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, धनकुटा स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का बजार व्यवस्थापक मनोजकुमार आचार्य रहेका छन् । 

मुदा दायर गरिएका सबै जनासँग अख्तियारले दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो दाबी गरेको छ । 

कोसी अस्पताल कोभिड–१९ केन्द्र, विराटनगरमा एचडीयू जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा स्वास्थ्य निर्देशनालय धनकुटाले प्रक्रिया पूरा नभएको बोलपत्रलाई प्रक्रिया पूरा भएको भनी मूल्यांकन समितिबाट गलत लिखत तयार गरी अनियमितता गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

सबैभन्दा कम रकम कबोल गर्ने बोलपत्रदातालाई छनोट गर्नुपर्नेमा कोभिड महामारीको विशेष परिस्थिति देखाई गैरकानुनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कबोल गर्ने बोलपत्रदातालाई छनोट गरेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्