site stats
बाह्रखरी :: Baahrakhari
देश
आधारभूत र निजी अस्पतालमार्फत स्वास्थ्य बिमा सेवा विस्तार गरिँदैछ ः प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी अस्पताललाई समेत स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत गरिने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले बिमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्‍याउन यस्तो तयारी भएको बताए । 

रास्वपा सांसद डा. चन्दा कार्कीले सोधेको स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको पहुँचमा पुर्‍याउन के गरिँदैछ ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सो जवाफ दिएका हुन् ।  “आगामी आर्थिक वर्षदेखि आधारभूत अस्पतालबाट पनि स्वास्थ्य बिमा सेवा सुरु गरिनेछ, निजी तथा सामुदायिक अस्पताललाई पनि बिमामा समेटी सेवा विस्तार गरिनेछ,” जवाफमा प्रचण्डले भने । 

यस्तै, उनले बिमामा समेटिएका औषधिको सहज उपलब्धताका निम्ति आगामी वैशाख १ गतेदखि छुट्टै रिफिल काउन्टरमार्फत औषधि वितरण गरिने र सबै अस्पतालबाट मंगलबार जेरयाट्रिक क्लिनिकमार्फत सेवा दिइने बताए । 

बिमा सेवाबापतको शोधभर्ना दुई महिनाभित्र हुने व्यवस्था गर्न बिमा बोर्डमा जनशक्ति थप्ने प्रक्रिया अघि बढाइएको पनि उनले बताए । बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बिमा नियमावली संशोधन कार्य अघि बढाइएको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।  


 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्