site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य बिमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको परिवारको अनिवार्य बिमा गरिने बताए ।

आम्दानी अनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बिमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बिमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,” उनले भने । 

उनले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बिमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बिमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी गराए । 

प्रधानमन्त्री प्रचण्डले गरिब परिचयपत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरिब नागरिकको प्रिमियमको व्यवस्था गरिने समेत बताए ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्