site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई दिनपछि आगो निभाइयो, १५ करोड बराबरको क्षति
प्रतीकात्मक तस्बिर ।

झापा । मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो आज निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको हो ।

काठको विशाल घाटगद्दी भएकाले आगो निभाउन ६० घण्टाभन्दा बढी समय लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले बताए ।

आगलागीबाट १५ करोड रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको उनले बताए । उनका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरूपमा क्षतिग्रस्त भएको छ । भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको प्लाइउड उद्योगमा एक हजार २०० मजदुर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ ।

आगलागीको खबर प्राप्त हुनेबित्तिकै १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो निभाउन कठिन भएको थियो । आगो निभाउन भारतबाट पनि दमकल मगाइएको थियो ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन केसीले आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको बताए । रासस

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्