site stats
बाह्रखरी :: Baahrakhari
देश
'रेड नोटिस' जारी हुँदा पनि पक्राउ परेनन् जीबी राई, मलेसियन प्रहरीलाई नै प्रभावमा पारेको आशंका !

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) विरुद्ध 'रेड नोटिस' जारी भएको छ । जीबी राईसहित पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका चार जनाविरुद्ध यसअघि 'डिफ्युजन नोटिस' जारी भएको थियो ।

'डिफ्युजन नोटिस'ले मात्रै उनलाई विदेशबाट पक्राउ गरेर नेपाल झिकाउन समस्या देखिएपछि नेपाल प्रहरीले 'डिफ्युजन नोटिस'लाई 'रेड नोटिस'मा बदल्न पत्राचार गरेको थियो ।

सोही अनुसार उनको डिफ्युजन नोटिसलाई रेडमा कन्भर्ट भएको हो । उनीविरुद्ध केही दिनअघि नै रेड नोटिस जारी भएको उच्च प्रहरी अधिकारीले जानकारी दिए ।  

प्रहरी अधिकारीका अनुसार राई मेलेसियामा पुगेको खुलेको छ । उनले सहकारीको रकमले मलेसियाको २०१९ मै अपार्टमेन्ट खरिद गरेको खुलेको छ ।

प्रहरी अधिकारीका अनुसार रेड नोटिस जारी हुँदा समेत उनलाई मेलेसिया प्रहरीले चासो नदेखाउँदा उनी पक्राउ पर्नबाट जोगिएका हुन् । राईले मलेसियाका प्रहरीलाई समेत प्रभावमा पारेको आंशका गरिएको छ ।

पोखरास्थति सूर्यदर्शन सहकारीको १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप जीबीमाथि छ ।

राईले पोखराबाहेक काठमाडौं, चतिवन र बुटवलमा समेत सहकारी सञ्चालन गरेर निक्षेपकर्ताको रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना गर्ने १९ जनाविरुद्धको मुद्दा हाल जिल्ला अदालत पोखरामा विचाराधीन छ ।

जिल्ला अदालत कास्कीले १९ जनामध्ये पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । चौध जना अझै फरार छन् । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध समेत पोखरामा पूरक जाहेरी परेको छ ।

प्रहरीले पूरक जाहेरी माथिको अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्