site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टीआरसीमा दुई विषयमा सरकारले माग्यो समय 

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा दलहरू आइतबार पनि सहमतिमा पुग्न सकेनन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकबाट सो विषय टुंगो लगाउने नेताहरूले बताएका थिए ।

सरकारले संशोधन गरेर ल्याएको विधेयकको मस्यौदा आउँदो बैठकमा पेस र पारित गरिने समितिका सभापति विमला सुवेदीले जानकारी दिइन् ।

दुई विषयमा थप समय आवश्यक परेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा बताए । “पीडितको सहमति स्वतन्त्र सहमति नभए के गर्ने भन्ने र घटी सजायको कुरा छ । कति घटी गर्नेमा प्रतिशत तोक्ने कुरा भएको छ, कति तोक्ने ? यो दुई विषयले समय माग्यो, अरू विषय मिल्यो,” उनले भने ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सो विषय टुंगो लगाउन आफूहरू सकारात्मक भएको बताए । “सरकारले समय माग्नु राम्रो हो । छलफल गरौँ । एमाले सकारात्मक छ,” बर्तौलाले भने ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन दलहरू निकै नजिक पुगेका नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्