site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ३३.७४ अंकले घट्यो, बोट्लर्स नेपाल आठ हजारले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार दुई हजार विन्दु तल झरेर बन्द भयो । बिहीबार २,००५ विन्दुमा बन्द भएको नेप्से साताभर ३३.७४ अंक घटेको हो ।

पछिल्ला १० कारोबार दिनलाई हेर्दा बजार दुई दिन बढेको छ । बाँकी आठ दिन घटेको छ । गत साता निरन्तर घटेको बजार यो साता दुई दिन बढ्यो ।

साताको पहिलो दिन २६.८१ अंकले घटेको बजार दोस्रो दिन १३.२८ अंक र तेस्रो दिन ९.३४ अंकले बढेको थियो । चौथो दिन ०.८७ अंक घटेको बजार अन्तिम दिन भने २८.६८ अंकले घटेर बन्द भएको छ ।

तर, घटेको बजारमा बोट्लर्स नेपाल (बालाजु) को सेयरमूल्य लगातार उकालो लागिरहेको छ । यस कम्पनीको सेयरमूल्य एक सातामै आठ हजारभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम दिन १३ हजार ४१५ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयर यस साताको अन्तिम करोबार दिन २१ हजार ६०५ रुपैयाँमा बन्द भएको छ ।

पछिल्लो एक वर्षको मूल्य हेर्दा कम्पनीको सेयरमूल्य १९ हजारभन्दा बढीले वृद्धि भएको छ । पछिल्लो ५२ हप्ताको न्यूनतम मूल्य दुई हजार २२२ रुपैयाँ थियो ।

त्यस्तै, घटेको बजारमा युनिलिभर नेपाल, बोट्लर्स नेपाल (तराई), राष्ट्रिय बिमा कम्पनीलगायत छन् । युनिलिभर नेपालको एक सातामा प्रतिकित्ता १०७ रुपैयाँ सेयर मूल्य बढेको छ । बोट्लर्स नेपाल (तराई) को प्रतिकित्ता दुई हजार ३७७ र राष्ट्रिय बिमा कम्पनीको सेयरमूल्य एक सातामा ४३६ रुपैयाँ बढेको छ ।  

गत साता चार कारोबार दिनमा १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको तीन करोड ५९ लाख ७४ हजार २७८ कित्ता धितोपत्र कारोबार भएको थियो । यो साता पाँच कारोबार दिनमा ११ अर्ब ६१ करोड १३ लाख रुपैयाँभन्दा बढीको तीन करोड २३ लाख ३७ हजार ७१२ कित्ता धितोपत्र कारोबार भएको छ । 

यो साता घटेको बजारबाट उत्पादन तथा प्रशोधन र व्यापारिक समूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूहको ११.७७ प्रतिशत र व्यापारिक समूहको परिसूचक ४.१८ प्रतिशत बढेको छ ।

यीबाहेक बाँकी समूहका परिसूचक घटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्