site stats
बाह्रखरी :: Baahrakhari
देश
आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । उनले  वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताए । स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । उनका सिर्जनाहरू कालजयी रहने बताए । 

प्रधानमन्त्रीले भने, "वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । शोकको यो घडीमा सबैभन्दा पहिला भजन शिरोमणीको रूपमा स्थापित भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सबै शोकाकुल परिवार र सबै संगीत र कलाको क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । सबैलाई यसले भावविह्वल बनाएको छ । उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरू ।"

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्