site stats
बाह्रखरी :: Baahrakhari
खेल
ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो ।

शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।

आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भन्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्