site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनकी शान्ति जसले दुबईमा मासिक ७० हजारको काममा लगाइदिने भन्दै ठगिन् !

काठमाडौं । दुबई पठाउने नाममा ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–१३ की ३९ वर्षीया शान्ति गुरुङ रहेकी छन् । उनी हाल ललितपुरको गोदावरीस्थित चापागाँउ बस्दै आएकी थिइन् ।

 

उनीमाथि सन्तोषी कुमारी थापासहित पाँच जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाउने आश्वासन दिएर ठगी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार गुरुङले पीडितहरूलाई दुबई जान प्रतिव्यक्ति तीन लाख रुपैयाँ लाग्ने बताएकी थिइन् । उनले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङको काममा लगाइदिने र मासिक ७० हजार रुपैयाँ तलब हुने बताएकी थिइन् ।

तर, उनी पीडितहरूबाट पटकपटक पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार गोदावरीबाट पक्राउ गरेको हो । ‍थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्