site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
करको दायरामा नआएका युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने काठमाडौं महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँच लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने तयारी गरेको छ । काठमाडौं महानगरपालिका नगरसभाको १४औँ अधिवेशनमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा कर छुटको प्रस्ताव ल्याएको हो ।

करको दायरामा नआएका ३५ वर्ष भन्दा कम उमेरका युवा उद्यमीहरूको उद्योगले २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् । उनले नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरिएकफ बताइन् ।

त्यस्तै, महानगरले चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटाउने प्रस्ताव गरेको छ । सोही बराबरको रकम पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा थप गर्ने प्रस्ताव ल्याएको उनले बताइन् ।

महानगरले चालु आर्थिक वर्षका लागि विनियोजित २४ अर्ब ४ करोड ५४ लाख रुपैयाँमध्ये चालु आर्थिक वर्षको पुस २६ गतेसम्म चार अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको बताएको छ ।

उपप्रमुख डंगोलले हालसम्म पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको बताइन् । यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ३६.४७ प्रतिशत खर्च भएको उनले बताइन् ।

राजस्व आम्दानीतर्फ चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएकोमा पुस २६ गतेसम्म कुल चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६२४ रुपैयाँ राजश्व संकलन भइसकेको उनको भनाइ छ ।

आन्तरिक राजस्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ रहेकोमा आन्तरिक आय अन्तर्गत दुई अर्ब ८७ करोड ७८ लाख ९८ हजार ८७७ रुपैयाँ राजस्व संकलन भइसकेको उनले बताइन् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्