site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाले तीन सिट दिने भनेपछि धुम्बाराहीबाट निस्किए शेखर–गगन, ‘बटमलाइन’ चार

काठमाडौं । सभापति शेरबहादुर देउवाको निवासबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निस्किएका छन् । कांग्रेसले राष्ट्रियसभामा १० सिट पाउने सत्ता गठबन्धनमा भागबन्डा भएपछि पार्टीको आन्तरिक बैठक आइतबार धुम्बाराहीस्थित देउवाको निवासमा बसेको थियो । बैठकमा संस्थापनइतर समूहबाट शेखर–गगन सहभागी थिए ।

बैठकमा सो समूहले चार सिट पाउनुपर्ने माग गरेको थियो । तर, सभापति देउवाले तीन सिट मात्र दिन सक्ने अडान लिएका छन् ।

“हाम्रो माग चार सिट हो । सभापतिले तीन सिट मात्र दिन्छु भन्नुभयो,” शेखर–गगननिकट एक नेताले बाह्रखरीसित भने, “धुम्बाराहीबाट उहाँहरू (शेखर–गगन) निस्कनुभयो । अब हेरौँ, के हुन्छ थाहा छैन ।”

ती नेताका अनुसार, बैठकको सुरुआतमा देउवाले दुई सिट मात्र दिने बताएका थिए । तर, नेता शेखरले आफू बैठकबाट निस्केर हिँड्ने भनेपछि देउवाले तीन सिट दिने बताएका थिए ।

साथै, शेखरले हारेको मान्छे राष्ट्रियसभामा लैजाने विषयमा आफू कुनै पनि हालतमा सहमत हुन नसक्ने बताएका उनले जानकारी दिए ।

“हारेको मान्छेमा म सहमत हुन सक्दिनँ, चार सिट जुनसुकै हालतमा चाहिन्छ भनेर उहाँ (शेखर कोइराला)ले स्पष्ट कुरा राख्नुभयो । सभापति तयार हुनु भएन,” उनले थपे ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्