site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'जताततै मलाई देश बचाऊ भन्दै छन्, राष्ट्र खोक्रो पार्ने चलन हेरफेर गर्नैपर्छ'

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश निर्माणका लागि सबै एक‍ ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा पुगेका पूर्वराजा शाहले राष्ट्रियता र नागरिकको सर्वोत्तम हित हुने व्यवस्था जनता आफैँ तय गर्नुपर्ने पनि बताए ।

"के गर्दा र के कस्तो विधि अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैँले तय गर्ने विषय हो," उनले भने ।

पूर्वराजा शाहले आफू जता जाँदा पनि जनताबाट 'आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ, देशको सभ्यता र समृद्धि बढाऊ’ भनेर आउने गरेको दाबी गरे ।

"हामी सबैको दृढ प्रयत्न यसैअनुरूप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आऊ अब हामी सबै एकै ठाउँमा उभिऔँ," उनले भने ।

उनले आफूले अहिलेको अवस्थालाई नजिकबाट नियालिरहेको पनि बताए । "म कतै अन्त गएको छैन । सदा नेपालीको साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख दु:ख, सुविधा–असुविध बाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु," उनले भने ।

पूर्वराजा शाहले अहिले देश जर्जर अवस्थामा पुगेको पनि टिप्पणी गरे । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिका कारण लाखौँ युवा विदेशिएको उनको भनाइ छ ।

"आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौँ युवा जनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रेर, असन्तोष, आक्रोश तथा विवश भएर हाम्रा युवा बाहिरिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ," उनले भने ।

देशमै उत्पादन, उद्यम, इलम, सिप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्ने उनको भनाइ छ । "देशलाई खोक्रो पार्ने चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ," उनले भने ।

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्