site stats
बाह्रखरी :: Baahrakhari
देश
उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । काठमाडौंका गोकर्णेश्वर नगरपालिका–३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको दाबी गर्दै उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका सचिव प्रेमप्रसाद भण्डारी, सदस्य मोहनप्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेल रहेका छन् ।

बाटो स्तरोन्नति योजनाको निर्माण कार्य सम्पन्न भई उपभोक्ता समितिमार्फत भुक्तानी हुन बाँकी रकम भुक्तानी दिने क्रममा घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले लक्ष्मण अधिकारी, मोहनप्रसाद कुइँकेल र सुशान्त कुइँकेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्