site stats
बाह्रखरी :: Baahrakhari
खेल
मधेसको पहिलो जित, कर्णाली अझै जितविहीन

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ । 

सोमबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले गण्डकी प्रदेशविरुद्ध २७ रनको जित निकालेको हो । 

मधेसले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी १९.४ ओभरमा ८५ रनमै समेटियो । 

गण्डकीकी सुमन खतिवडाले ४२ रन बनाए पनि टिमको हार टार्न सकिनन् । शृष्टी जैसीले १५ रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

मधेसकी पुजा महतोले तीन विकेट लिइन् । ३.४ ओभर बलिङ गरेकी पुजाले एक मेडन राख्दै सात रन खर्चिइन् । सरस्वती कुमारी, कविता गौतम र साक्षी यादवले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११२ रनको योगफल खडा गरेको थियो ।

मधेसकी ओपनर पुजा महतोले ३८ रन बनाइन् । सरस्वती कुमारीले २६ र प्रतिमा साहले १० रन थपे । मधेशले २२ रन अतिरिक्त पाएको थियो । 

गण्डकीकी सुमन खतिवडाले तीन विकेट लिइन् । कुशुम गोडर र शृष्टि जैसीले समान एक विकेट लिए । 

जितसँगै चार खेलबाट दुई अंक जोडेको मधेस तालिकाको सातौँ स्थानमा छ । दुई अंक नै जोडेको गण्डकी तालिकाको छैटौं स्थानमा छ ।

आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३० रनको जित दर्ता गर्यो । 

प्रतियोगितामा लुम्बिनीको यो दोस्रो जित हो । यता, कर्णाली भने अझै जितविहीन छ । चार खेलबाट चार अंक जोडेको लुम्बिनी पाँचौँ स्थानमा उक्लिदा अंकविहीन कर्णाली पुछारमा छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्