site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भाँडो

भीमबहादुर धारानिर बसेर भाँडो माझिरहेको थियो । उसलाई आज साह्रै हतारो छ, ढिलो गर्न हुँदैन । ठूलो मालिक कुन्नि किन हो कहाँ जानुहुन्छ रे । बिहान सबेरै चिसो छ, केही जाडोजस्तो पनि छ । छिटो काम गर्दा बल परेकोले जीउ तातिरहेछ र मनको सोचाइलाई हलुङ्गो पारेर माथि उडाइरहेछ ।

ऊ सोचिरहेको थियो– अब त घर नगइछाड्दिन । कुन्नि ! मालिकले कसरी बिदा नदिँदो रहेछ हेरूँ । आमा पनि त बूढी भइसकी, नदेखेको एक वर्ष, होइन एक वर्ष सात महिना भइसक्यो आमालाई नदेखेको...बिचरी !

त्यसै बखत मालिकको ठूलो छोरो जेठाकाजीले बोलायो, “भीमे, भीमे !”

भीमे एकचोटि त झस्क्यो–त्यसपछि करायो, “हजुर ।”

“चुरोट किनेर ले, जा ।”

भीमेले बिस्तारै नसुनिने गरी भन्यो, “चुरोट चुरोट, कहिले चुरोट ले, कहिले तमाखु भर...अनि हो त...।”

“माथि आइज ।”

“होइन हजुर, भाँडा माझिरहेको छु, हतारो छ । तपाईंलाई थाहा छैन ?” कुन्नि कसरी उसको मुखबाट यो कडा बोली चिप्लेर निस्क्यो, ‘तपाईंलाई थाहा छैन ?’

अनि माथि हप्काएको आवाज आयो, “मूला जबाफ दिन्छ बढेर ।” त्यसपछि फेरि सामसुम भयो ।

भीमे केही डराएर, केही सरमाएर मुख रातो पारिरह्यो । उसले सोच्यो, ‘मुखबाट यस्तो कुरा निस्क्यो कसरी !’

केहीबेरपछि उसले यो सबै कुरा बिर्स्यो । घुम्दैघुम्दै यही कुरामा आयो कि ऊ घर जरुर जान्छ, उसलाई जानैपर्छ । आमाले त भनेकी थिई, “ए बाबु भीमे ! सहर गएर पैसा कमाउने कुरा नगर, यहीँ बस, यहीँ ज्याला काढेर रुक्खा–सुक्खा खाएर बसूँला ।”

उकालो ओरालो, अनि फेरि उकालो ओरालो । अनि घुमाउरोनिर एउटा भट्टी आउँछ । घरछोरी भर्खरकी १४/१५ वर्षकी थिई होली । गोरो गाला ! अब त १६/१७ वर्षकी भई होली । रात त त्यहीँ बास बस्नुपर्ला ।

झस्केर उसले आफ्नो आङको च्यातिएको मैलो दौरालाई हेर्यो । सहानुभूति तथा घृणामिश्रित नेत्रले एकचोटि यताउति कहाँकहाँ च्यातिएछ भनी दौरालाई र त्यही सुहाउँदो घुँडा टालेको सुरुवाललाई हेर्यो र मनमनमा भन्यो, ‘एक जोर लुगा, कुत्री जडाउरी दिएर खूब दानी भएँ भन्दो हो हँ ।

अब त घर जाँदा नयाँ दौरा–सुरुवाल सिलाएर लैजान्छु । नत्र गाउँलेहरूको अघिल्तिर कुन नाक देखाउने ? सहरमा बसेर जान लागेको ठट्टा होइन ।’

अनि उसले नयाँ दौरा–सुरुवाल र ठूलो काजीको जडाउरी कोट लाएर गाउँलेहरूको बीचमा ठाँटिएर बसेको कल्पना गर्यो ।

भाँडा मलेको शब्द मन्दमन्द हुँदै गयो–केहीबेर टक्क रोकियो । फेरि मन्दमन्द स्वरमा सुरु भयो । बीचमा एकछिन झर्को गरेर ठूलो स्वरमा घ्याइँघ्याइँ गर्थ्यो ।

पुन्टू अब त निकै बढी होली । घरमा आमालाई बोलाउन आउँथी । ऊसँग केही रत्तिएकी लहसिएकी थिई । उसले भनेको कुरा मान्थी घाँस काट्न जाँदा ऊसित जुवारी खेल्न सिक्तथी ।

कहिलेकाहीँ छटपटाएको र डराएको आँखाले उसलाई हेरेर भन्दथी, “अबेर भयो, बाले गाली गर्नुहुन्छ– कहीँ धेरैबेर नबस् भन्या छ ।” त्यस बेला पुन्टू १३ वर्षकी त थिई पनि ।

ठूली ऊभन्दा निकै वर्ष जेठी, राँकिएको गाला, बराँठिएको शरीर, कसरी सबैसित आँखा लडाउँथी । सारा गाउँका जवान पल्लो गाउँका ओल्लो गाउँका, सबैले उसलाई नराखेको भन्या छँदैछैन ।

एक दिन ठूली पुष्ट गालामा खाल्टो पर्ने गरी हाँसेर ऊ नजिक आई र उसको गालामा निकै साह्रैसित चड्काएर भनी, “अँ, नानीको बिहे गर्ने कहिले ?” अनि के–के । ऊ एकछिन त जिल्ल परेथ्यो अनि लाजले भुतुक्क भयो ।

उसले फेरि सोच्यो– आमाले पक्का पनि एउटी राम्री केटी खोजिराखेकी होलिन् बिहे गरेर यहाँ फर्कूं कसरी ? स्वास्नी लिएर यहाँ बस्न त अलि...। त्यहीँ फ्याँकेर आउने ? छिः छिः ! फेरि गाउँमा, त्यस्तो पहाडमा कसरी कुहिने त ?

यो समस्या सुल्झाउँदै उसको हात टक्क रोकियो र भाँडा माझ्ने सुद्धीबुद्धि नै रहेन । त्यसै बखत माथिबाट एउटी आइमाई घाँटी सुक्ने गरी चिच्च्याइरहेकी थिई, “भीमे, भीमे ! पानी ल्याउनु पर्दैन ? भाँडा माझेको अहिले हो, कसरी सिध्याउने ?”

भीमे अकस्मात् आफ्नो चिन्ताबाट बिउँझ्यो र हडबडाएर सोझो बस्यो । वाल्ल परेर हेर्न लाग्यो । कानमा केही आवाजको झनक परेको थियो । केही जबाफ दिने सोच्न सकेन ।

अनि पछि बिहे गर्ने चिन्तालाई सोचेर उसको अङ्गप्रत्यङ्गमा एउटा हल्का सरमको लहर दौड्यो । यसपछि ऊ आफैं ङिच्च दाँत देखाएर हाँस्यो ।

त्यसै बखत ठूलो काजीकी स्वास्नी दौडँदै आई र भन्न लागी, “खै छाड् भीमे, छाड्, बच्चाले टाउकादेखि आङभरि सर्वाङ्ग फोहोर गरिदियो– के भनूँ !”

भीमे हाँस्न खोज्यो । भन्यो, “यति सिध्याऊँ, अनि जे मन लाग्छ गर्नुस् ।”

ठूली दुलहीले फेरि भनी, “फेरि हतारो पनि छ, तरकारी काट्नुपर्छ, त्यत्तिका काम छ, यो घरमा कहिले काम सिद्धिदैन, दिक्क लाग्छ ।”

भीमले स्वीकृतिसूचक टाउको हल्लायो–अनि सरेर बस्यो । ठूली दुलहीले साबुन खोपामा राखी । त्यहाँपछि बाहिरी धोती फुकाली, कीलामा झुन्ड्याई । भीमेले बिस्तारै आँखा उठाएर मालिक्नीको शरीरमा दृष्टि फिजायो ।

भित्री धोती छातीदेखि लिएर घुँडासम्म टनक्क बेह्रिएको थियो । धोती शरीरमा च्याप्प टाँसिएको थियो । एउटा छोराकी आमा भइसकेर पनि उसको शरीर जस्ताको तस्तै कसिएको थियो ।

गोरो, गोलो, टम्म परेका हातपाखुरा, उठेको छाती जुन धोतीले छोपिए तापनि राम्ररी देखिन्थ्यो । दुलहीले भनी, “पानी चिसो छ हगि ?”

भीमेले बाँकी भएको एउटा भाँडा माझ्नलाई खूब बल गरेर मनमनमा भन्यो, ‘आ, हतारो छ । हतारो ।’

एकचोटि आफूलाई रोक्तारोक्तै पनि उसको आँखा मालिक्नीको शरीरमा गएर पर्यो । त्यसपछि बिजुलीकै धक्का लागेझैँ उसले तल हेर्यो । अहिले मालिक्नी एकदम भिजिसकेकी छ ।

त्यो पातलो धोती अब झन् टाँसियो । मालिक्नीको सुन्दर अनुहारलाई दिनको दिन देखेको थियो । अनि गोरो हात देखेको थियो–सेतो सुलुक्क परेको पिँडौला पनि देखेको थियो ।

उसले फेरि एकचोटि फूर्तिसित हात चलायो र सोच्यो– हामीले यसरी मालिक्नीको आङमा हेर्नु हुँदैन !

भन्दाभन्दै उसले चोरेर एकचोटि हेरिहाल्यो । मालिक्नी साबुन लगाइरहेकी थिई–आङमा लगाएपछि धोती अलि माथि सारेर घुँडामाथि लगाउन लागी । फेरि खूब जोडसित धक्का लाग्यो ।

ऊ काँपिरहेको थियो–बिस्तारै–बिस्तारै उसको सारा शरीर शिथिल हुँदै गयो । ऊ उठेर भाग्न चाहन्थ्यो–तर उठ्न सकेन । फेरि काम पनि हतारोको हो । मेरो आँखा पनि त उतैतिर जान्छ । ऊ आफ्नो अशक्य देखेर रिसाइरहेको थियो– नमालुम केके गरिरहेको थियो ।

भाँडा मल्दामल्दा हात चिप्ल्यो । तब भाँडा भैँमा लडेको र यताउति भएको ठूलो आवाज आयो । मालिक्नीले झस्केर घुमेर त्यतातिर हेरी र भनी, “के गर्छस् ए भीमे ?”

भीमे टोलाएर उसको मुख हेर्दैमा बित्यो । केही भन्न सकेन । एकछिनपछि लजाएर मुख रातो पारेर शिर झुकायो । मालिक्नीले त्यस बेलासम्म नुहाउनमा फेरि तनमन दिइसकेकी थिई ।

भीमेले हातले मुखको पसिना पुछ्यो–बाहुला माथि सार्यो । बाहुला सार्दा च्यातिएकै ठाउँमा हात पर्दा चर्र च्यातियो । गजब भएर बाहुलालाई हेर्यो र उसले यो पनि देख्यो कि हातको कालो खरानी लुगामा लागेछ–अनि झट्ट उसलाई यो ज्ञान भयो मुखमा पनि खरानी लाग्यो होला ।

झटपट हडबडाएर दौराको फेरले मुख पुछ्यो र दाँत देखाएर ङिच्च हाँस्यो । एकचोटि उता मालिक्नीले थाहा पाई कि भनेर हेरी पनि हाल्यो ।

भीमेलाई कहिले सुबिस्तासित सुत्न मन लाग्यो–कहिले यताउति घुम्ने इच्छा भयो । आफ्नो बदनमा मुक्की हिर्काएर कसरत गर्ने मन भयो–स्याँ स्याँ फुँ–फुँ गरेर उकालो चढ्न मन लाग्यो ।

तैपनि ऊ उठ्नसम्म सकेन र उसले मालिक्नीले साबुन लगाएको, मलेको, नुहाएको इत्यादि हरेक क्रिया एकएक गरेर हेर्दै गयो ।

ठीक यसै बखतमा सानो काजी, ठीक बीस–एक्काइस वर्षको, भीमेभन्दा केही जेठो जमिनमा आँखा गाडेर सोच्दै आइरहेको थियो । माथि हेर्नासाथ ऊ लाटो भएर एक भएर एकछिन जिल्ल पर्यो ।

भाउजूले घुमेर यतातिर हेरी र दुवै देवर भाउजूको आँखा जुध्यो–भाउजूले झटपट कीलामा झुन्डाइराखेको धोतीमा हात बढाई । साथसाथै रातो लामो जिभ्रो निकालेर दाँतले काट्न लागी । उता देवर मुख रातो पारेर फरक्क फर्केर हिँड्यो ।

भीमे अहिलेसम्म कहिले देवर कहिले भाउजूलाई ताकिरहेको थियो । किन हो कुन्नि उसलाई पनि अर्कै किसिमको, एकतमासको लाज लाग्न लाग्यो । तब भाउजूतिर हेर्यो । उसले देख्यो कि भाउजू चाहिनेको सरमले लाली परेको चेहरामा फिका मुस्कान झल्किरहेको थियो ।

मालिक्नीले सुकेको धोती फेरि कीलामा झुन्डाई र फेरि पानीको धारामा खुट्टा राखी । खुट्टा सफा गर्न त बाँकी नै थियो नि ।

मालिक्नीले भनी, “यो धारा त त्यस्तै हो, जहिले नुहाउन आए पनि...।” फेरि भनी, “स्वास्नीमान्छेले त नुहाउनै पर्दैन जस्तो ।”

अब वातावरण यस्तो देखियो–यताउति कालोमैलो भाँडा लडिरहेको, फोहोर मैलो जमिन हेर्दै घिनलाग्दो स्पष्ट देखियो । त्यही एउटा भाँडामाथि हात राखेर बसिरहेको भीमे सोचिरहेको अथवा धाराको पालो पर्खिरहेको थियो ।

यो पनि देखियो–भाँडाहरूको बीचमा भाँडाजत्तिकै मैलोथैलो भीमे भाँडै हो कि जस्तो गरेर भाँडाहरूसित मिसिइरहेको थियो ।
(गोठालेको कथासंग्रह ‘कथैकथा’ बाट ।)
 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्