site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अपाहिज दृष्टि

नेत्रहीनले बार्दलीबाट आवाज आएतिर कान ठाडो पार्दै सुन्यो र बहिरो मित्रको कान नजिकै गएर भन्यो, “मित्र, त्यहाँ पर भेडाहरू कराइरहेको जस्तै आवाज सुनिन्छ । तिनीहरू किन कराइरहेका हुन्, हेर त बहिर ।”

टारको मचानमा उक्लिँदै बहिरो मित्रले भीडतर्फ हेर्दै भन्यो, “प्रिय मित्र, तिनीहरू त रमाएर उफ्रेर नाचिरहेको मात्र देखिन्छ ।”

मौनतामा लीन लाटो मित्रले आफ्नो पावरवाला चस्माभित्रबाट आँखा तन्काएर भीडतर्फ हेर्यो, भीड आफ्नैविरुद्धमा उग्र नारा लगाउँदै अगाडि बढिरहेको थियो । सरकारविरुद्ध तीव्र असन्तुष्टिको आवाज रहेछ ।

भीडलाई यथोचित सम्बोधन गर्न अबोलाको कण्ठबाट कुनै वाणी निस्किरहेको थिएन । सत्ताको उन्मादले ती सबै अपाहिज थिए ।

(हेटौँडा)
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्