site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाको घर नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ ।

घर रहेको जग्गाधनी प्रभा चापागाईंको रिटमा उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता तथा राप्रपाको कानुन विभाग प्रमुख राजु बस्नेतका अनुसार अदालतले व्यक्तिको नाममा रहेको पार्टी कार्यालय भवनको नक्सापास गरिदिन पनि महानरपालिकाका नाममा परमादेश जारी गरेको छ ।

यसअघि न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म भवन भत्काउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

गत साउन १५ गते काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनी रहेको राप्रपाको धुम्बाराहीस्थित कार्यालयको संरचना अवैध रहेको र नक्सा पास पनि नभएको भन्दै भत्काउन डोजरसहित पुगेको थियो । तर, त्यतिबेला राप्रपाका नेता कार्यकर्ताको अवरोध र वार्तापछि महानगरपालिकाले २१ दिनको समयसीमा दिएको थियो ।

भवन खाली गर्न दिइएको २१ दिनको समयमा राप्रपा घरधनीमार्फत अदालत पुगेको थियो । अहिले प्रभा चापागाईंको पक्षमा आदेश भएसँगै राप्रपाको कार्यालय जोगिने भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्