site stats
बाह्रखरी :: Baahrakhari
देश
थाइल्यान्ड भनेर म्यानमार : दैनिक २० घण्टासम्म ठग्ने काम, लक्ष्य नपुर्‍याए करेन्ट लगाउँथे !

काठमाडौं । म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्यामिङ (ठगी) मा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंस्थित बाँसबारीका ३६ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो । उनलाई गएको शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार लामासहितको गिरोहले पीडितलाई थाइल्यान्डस्थित कल सेन्टरमा अंग्रेजी ट्रान्सलेटरको काममा लगाइदिने आश्वासन दिएको थियो । उनीहरूले पीडितलाई खाने र बस्ने व्यवस्थासहित मासिक एकलाख ३० हजार रुपैयाँ पारिश्रमिक हुने बताएका थिए । तर, उनीहरूले पीडितबाट एकलाख ५० हजार रुपैयाँ लिएर थाइल्यान्ड नपठाएर म्यानमार पठाएका थिए ।

उनीहरूले पीडितलाई झुक्याएर म्यानमार पुर्‍याएको र त्यहाँ म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएको खुलेको ब्युरोले जनएकोछ । उनीहरूले चिनियाँ कम्पनीमा पीडितलाई फेसबुक, ह्वाट्सएप, ट्विटरजस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपियन नागरिकलाई ट्र्यापमा पारेर बिट क्वाइनमा लगानी गर्न आकर्षित गर्नेबारे सात दिनको तालिम दिएर अनलाइन ठगीको काममा लगाएका थए ।

कम्पनीले तोकेअनुसारको टार्गेट (लक्ष्य) पुर्‍याउन नसके पीडितलाई कुटपिट गर्ने, करेन्ट लगाउनेजस्ता शारीरिक यातना दिने गरको खुलेको छ ।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिएको र सीसी क्यामेरा जडान गरी पीडितलाई कम्पनीबाहिर आफूखुसी जान नपाउने व्यवस्था गरिएको थियो । कम्पनीभित्रै दैनिक १८–२० घण्टासम्म अनलाइन स्क्यामिङको काममा लगाएर साइबर दासी बनाएको खुलेको छ ।

म्यानमार पुगेको १० महिनापछि पीडितले नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई आठ लाख रुपैयाँ बुझाएका थिए ।

यस घटनामा संलग्न अन्यको खोजी भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्