site stats
बाह्रखरी :: Baahrakhari
देश
सोती घटनाका पीडित परिवारको न्यायका निम्ति काठमाडौंमा खबरदारी सभा

काठमाडौं । रुकुम पश्चिमको सोती घटनाका पीडित परिवारको न्यायका निम्ति भन्दै काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको छ । 

चौरजहारी नगरपालिका–८, सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको थियो । सोही घटनाको मुद्दामा अन्तिम सुनुवाइ भइरहँदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खबरदारी सभा आयोजना गरेको हो । 

साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दा टुंगो नलाग्दा पीडित परिवार थप पीडामा परेको भन्दै खबरदारी सभाको आयोजना गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी महासचिव रुपा सुनारले जानकारी दिइन् । 

रुकुम जिल्ला अदालतमा अन्तिम सुनुवाइ भइरहेको अवस्थामा पीडित परिवारलाई न्याय दिनुपर्ने उनले बताइन् ।

खबरदारी सभामा सहभागीहरूले रुकुम सोती नरसंहारका पीडित परिवारहरूलाई न्याय दे, न्याय नमार लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो । ६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्